गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त



पोखरा । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः पदमुक्त भएका छन् । मुख्यमन्त्री अधिकारीले आज (शनिबार) प्रदेशसभा समक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै मत विपक्षमा परेकाले उनी पदमुक्त भएका हुन् । ५९ सदस्यीय गण्डकी प्रदेश सभामा उनले २४ पक्षमा मत पाए भने विपक्षमा ३४ मतदान गरेका छन् ।

उनले आफूलाई विश्वासको मत दिन उनले सबै दलहरू समक्ष आग्रह गरेका थिए । उनी नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका थिए । केन्द्रमा सत्ता समिकरण फेरेपछि माओवादीले मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादीले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहे पनि उनले विश्वासको मत पाउन सकेन् ।