गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने



गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी बिहीबार विश्वासको मत लिने भएका छन् । बिहीबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने तयारी रहेको सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबारका लागि प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा उनले आइतबार संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशनको आह्रवान गरेका हुन् । पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेपछि १५ गते पद तथा गोपनीयतको शपथ लिएका थिए ।


६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार संचालनका लागि ३१ सांसदको आवश्यक पर्दछ । गण्डकीमा कांग्रेस २७ सिटले सबैभन्दा ठूलो दल हो । माओवादीका ७ र स्वतन्त्र सांसदको समर्थन छ । मुख्यमन्त्रीको दाबी पेस गर्दा पाण्डेले प्रदेश प्रमुखसमक्ष ३५ सांसदको हस्ताक्षर बुझाएका थिए ।