काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले कोशी नामकरणको आफ्नो निर्णयबाट पछि हटेको छ ।
प्रदेशसभामा कोशीको पक्षमा भोट हालेको माओवादीको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।कोशीमा माओवादीका १५ सांसद छन् । माओवादीबाटै एक जना सभामुख भएकाले बाँकी १४ जनाले कोशीको पक्षमा मतदान गरेका थिए ।
पार्टी कार्यालय पेरिसडाँडामा आज (बुधबार) बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘कोशी प्रदेश नामाकरण भएपछि अहिले आन्दोलन उठिरहेको छ । हाम्रो पार्टीप्रति के हो अडान ? भनेर प्रश्न उठिरहेको छ । त्यसमा हाम्रो पार्टी पहिचानको पक्षमा छ । त्यतिबेला पनि पहिचानकै पक्षमा अडान राख्नुपथ्र्यो कमजोरी भएको छ ।’
नामाकरणपछि पहिचानको आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्न र राहतका लागि सरकारसँग माग गरेको छ । यस्तै, मिटरव्याजपीडितको आन्दोलनमा पार्टीको समर्थन रहेको उनले जानकारी दिएका छन् ।