ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने पक्राउ परिसके : गृहमन्त्री 



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको जानकारी दिएका छन् ।

झापामा बुधबार एक कार्यक्रममा ओलीविरुद्ध कालोझण्डासहित नाराबाजी र ढुंगामुढा गर्दै प्रदर्शन भएको थियो । प्रदर्शन सत्तापक्षकै कार्यकर्ताबाट भएको एमाले प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएपछि गृहमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध उत्रिएकाहरुबाट सो कार्य भएको जवाफ दिएका हुन् ।


बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले ओलीमाथि भएको आक्रमण हुनु दुःखद भएको भन्दै त्यस कार्यमा संलग्नमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका हुन् । घटनाप्रति सरकारको तर्फबाट दुःख व्यक्त गर्दै निन्दा गर्दै उनले अराजक गतिविधि गर्न कसैलाई छुट दिन नसकिने चेतावनी दिए । उनले सो घटनामा दुईजना सुरक्षाकर्मी घाइते भएको बताए । गृहमन्त्री श्रेष्ठले नागरिकताका विषयमा राष्ट्रिय सहमतिको प्रयास गर्न अपील गरे ।

उनले भने, ‘नागरिकताजस्तो विषयलाई हल्का नबनाऔँ । यसमा संवेदनशीलता जोडेर एक ठाउँमा आऔँ । राष्ट्रिय हितमा कुनै कोणबाट कुठाराघात हुने स्थिति नबनोस् ।’

उनले राष्ट्रिय सहमति नजुटे नागरिकताबाट वञ्चित नगर्ने गरी विधेयकलाई अघि बढाउने बताए । त्यस्तै उनले मिटरब्याज पीडितमाथि काठमाडौंको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरे । उनले जुनसुकै कारणले मिटरब्याज पीडितमाथि बल प्रयोग गरे पनि त्यो गल्ती भएको भन्दै माफी मागेका छन् ।