एसीसी प्रिमियर लिग : नेपाल १५७ रनमा अलआउट



काठमाडौं । एसीसी प्रिमियर लिगको समुह चरणको अन्तिम खेलमा नेपाल १५७ रनमा अलआउट भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाललाई खेलको ४०।३ ओभरमा १५७ रन बनाउँदा सबै विकेट गुमाएको हो ।


नेपालका लागि सर्वाधिक रन सन्दिप लामिछानेले बनाएका छन् । उनी अविजित रहँदै ४२ रन बनाएका छन् ।

नेपालले खराब सुरुवात गरेको थियो । नेपालले पहिलो ९ रन बनाउँदा दुई विकेट गुमाएको थियो । नेपालका ओपनर कुशल भुर्तेल दुई तथा भिम सार्की ६ रन बनाउँदै आउट भएका थिए ।

त्यस्तै रोहित पौडेलले २७ रन बनाउँदा आशिफ शेख १९, दिपेन्द्र सिंह ऐरीले १२ रनको योगदान गरे । सोमपाल कामी र आरिफ शेखले समान ११ रनको योगदान गरे । नेपालका पाँच खेलाडीले दोहोरो अंकको रन बनाउन असफल रहे । कुशल मल्ल तीन, गुल्शन झा सात रन र ललित राजवंशी एक रन बनाउँदै आउट भएका थिए ।

नेपालले कतारविरुद्ध जारी प्रतियोगिताको अहिलेसम्म कै खराब ब्याटिङ गरेको छ । कतारका लागि आमिर फारुकले सर्वाधिक चार विकेट लिँदा ववाइस अहमदले तीन र गयान मुनाविराले दुई र इक्रामुल्लाह खानले एक विकेट लिए ।

यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि साउदी अरबसँग अ‌क बाँडेपछि एक खेल अगावै नेपाल सेमीफाइनलमा पुगेको थियो ।

नेपाल रहेको समूह एबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाइसकेको हो । आज नेपाल कतारलाई जित्दै शीर्ष स्थानका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा रहने छ ।

उता कतार भने पहिलो जित निकाल्दै प्रतियोगिताबाट बिदा हुन चाहन्छ । नेपाल विजयी हुँदा शीर्ष स्थान तथा पराजित हुँदा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।