एमाले अध्यक्ष ओलीको चुनौती : ‘कोशी’ नाम खारेज हुन्न, दुई तिहाइ ल्याएर संशोधन गर



पाँचथर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेको भरमा ‘कोशी’ नाम फिर्ता नहुने चेतावनी दिएका छन् । तीन दिनदेखि पाँचथरमा रहेका ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘दुई–चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौं भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ,’ अध्यक्ष ओलीले भने । प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने भन्दै ओलीले आन्दोलन छोडेर विकास निर्माणमा जुट्न पहिचान पक्षधरलाई सुझाव दिए ।


अध्यक्ष ओलीले एमालेविरुद्व चौतर्फी षड्यन्त्र र घेराबन्दी भइरहे पनि यसले पार्टीलाई कुनै क्षति नगर्ने दाबी गरे । कांग्रेस र माओवादी गठबन्धनको सरकार धरापमा रहेकाले यसको विरोध गर्नुको औचित्य नहुने उनको दाबी थियो । ‘कांग्रेसको कुनै आकार प्रकार र स्वरुप छैन, पछिल्लो चार दिनयता आफूविरुद्व कालो झण्डा देखाउने अधिकांश माओवादीका कार्यकर्ता रहेको बुझिएको छ, विरोधले कुनै अर्थ राख्दैन’ उनले भने ।

यसअघि जन्मथलो तेह्रथुमको आठराई पुगेका ओलीविरुद्व पहिचान पक्षधरले नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए ।उनीहरुले झापाको बुधबारे, इलाम,पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा ओलीलाई कालो झन्डा देखाँउदै विरोध गरेका छन् ।
एमाले अध्यक्ष ओलीकै जोडबलमा प्रदेश १ लाई जबरस्त ‘कोशी’ नामकरण गरिएको भन्दै पहिचान पक्षधर एमालेविरुद्व आक्रोशित भएका छन् ।