एनपी साउद परराष्ट्रमन्त्री बन्ने



काठमाडौं । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । साउदको आइतबार शपथ हुने भएको हो । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्ती बन्ने भएका हुन् ।

मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।


परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ । कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि सिँचाईमन्त्री बनेका थिए । यसअघि उपप्रधानसहित ४ मन्त्री कांग्रेसले दाहाल नेतृत्वको सरकारमा पठाइसकेको छ । कांग्रेसभित्रको विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ वटा मन्त्रालयको समेत कार्यभार छ । तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरुप प्रधानमन्त्रीले शनिबार सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

बैठकमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललगायतको उपस्थिति रहेको प्रेसविज्ञ तिमिल्सिनाले जानकारी दिए । छलफलमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका थिए । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गरेका थिए ।