आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै



काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

सांसद साउद आज (आइतबार) परराष्ट्रमन्त्री नियुक्त हुने र पद तथा गोपनीयताको शपथ हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आठौं पटक सरकार विस्तार गर्न लागेका हुन् । अहिले अन्य मन्त्रीहरुको भने टुङ्गो नभएको जनाइएको छ ।


अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्रसहित ६ मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए ।

दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने छन्। बाँकी मन्त्रीको नाम भने कांग्रेसले उपनिर्वाचनपछि मात्र पठाउने तयारी गरेको छ ।

सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो। यसअघि कांग्रेसबाट चार जना मन्त्री बनिसकेका छन् ।