अमेरिकाको टेक्सासमा गोली हानी पाँच जनाको हत्या



अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका आठ वर्षीय बालकसहित पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको छ ।

बन्दुकधारीले नजिकैको आँगनमा गोली चलाएको प्रहरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ । बच्चालाई सुताउने प्रयास गरिरहेका बेला आक्रमणकारीले गोली चलाएपछि उक्त परिवारका सदस्यले आक्रमण रोक्न आग्रह गरेका थिए । सान ज्याकिन्टो काउन्टीका शेरिफ ग्रेग क्यापर्सले ‘आक्रमण’ बारे फोन आएपछि अधिकारीहरू निवासमा जाँदा डरलाग्दो दृश्य देखेको बताएका छन् ।


आठदेखि ४० वर्ष उमेर समूहका ती पीडित परिवार घरको अगाडिको ढोकादेखि भित्री शयनकक्षसम्म मृत भेटिएका थिए । घरभित्र नरसंहारमा बाँचेका दुई जना बालबालिकालाई दुई महिलाले शरिरले छेकेर बचाएको तर महिलाहरू सुतेको अवस्थामा मृत फेला परेका थिए ।

आक्रमणको समय उक्त घरमा १० जना रहेका थिए । उनीहरू होन्डुरसबाट टेक्सासमा आई बसोबास गर्दै आएका थिए । प्रहरीले ती बन्दुकधारी को हुन् भन्ने कुरा आफूलाई थाहा भएको र उनी मेक्सिकोका भएको दाबी गरेका छन् ।