सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सिर्जनात्मक ढङ्गले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने गरेर सरकारी सञ्चारमाध्यमलाई अगाडि बढाइनुपर्ने बताइन् ।


‘निजी क्षेत्रसँग ‘कन्टेन्ट’मा प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्छ भन्ने म सहमत छु । कन्टेन्टका रूपमा छलफल गरौँला, नीतिगतरूपमा प्रतिस्पर्धा गर्न लायक संस्था हामी बनाऔँ । कहाँनेर कमजोरी छ, दफाबार छलफलका क्रममा अगाडि बढौँ’, उनले भने ।

विधेयकमा नेपाल टेलिभिजन र रेडियो नेपालको सञ्चालनका लागि राज्यको दायित्वबाट वञ्चित नगरिएको उल्लेख गर्दैै मन्त्री शर्माले राज्यले लगानी पनि गर्ने र स्वतन्त्र ढङ्गले अगाडि बढाउने विषय विधेयकमा राखिएको प्रष्ट्याए । ‘राज्य आफ्नो दायित्वबाट पन्छिएको होइन’, उनले भने ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको संयोजनमा चलिरहेका गोरखापत्र, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनलाई संयुक्तरूपमा एउटै छाताभित्र राखेर राज्यको सञ्चित कोषबाट नै रकम व्यहोर्ने गरेर अहिलेको विश्वमा प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्ने बताइन् । ‘यी संस्थालाई स्वायत्त संस्थाका रूपमा विकास गरेर लैजानुपर्छ’, उनले भने ।