लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेस नेता चौधरीको दाबी पेस



दाङ । लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेस भएको छ ।

आज (बिहीवार) दिउँसो ४ बजेसम्म बहुमतको सरकारका लागि दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । सोहीअनुसार कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आठ राजनीतिक दलसहित ५३ जना सांसदको हस्ताक्षर बुझाइएको कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिए ।


प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ अनुसार एमालेले आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाउने तयारी थालेको थियो । तर प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतको सरकार गठन हुन लागेको हो ।

प्रदेशमा ८७ जना सांसद रहेका छन् । जसमा सबैभन्दा ठूलो दल एमाले हो । एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने माग गर्दै प्रदेश प्रमुख शेरचनलाई ज्ञापनपत्र बुझाएको थियो ।

लुम्बिनी प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टीका तीन, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एक र एक जना स्वतन्त्र सांसद रहेका छन् ।