काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ । सुनुवाइ पेसी सूचीको ‘ज’ नम्बरमा छ ।
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो । न्यायाधीश सिन्हा यसअघि संवैधानिक इजलासमा लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमाथिको सुनुवाइमा थिए । सो रिटको फैसलामा लामिछानेको नागरिकता तथा राहदानीको विषयमा आफ्नो धारणा दिएका थिए । सोही कारण उनले अहिलेको रिटमाथि आफूले सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।
रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो । अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।
यसअघि नै उनले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन् । महान्यायाधिवक्ता डा पोखरेलले यही चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेकाे बताइएको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको थियो ।