रत्नपार्कमा मिटर ब्याजपीडितमाथि प्रहरीको लाठ्ठीचार्ज, नौं जनाको ट्रमा सेन्टरमा उपचार हुँदै



काठमाडौं । रत्नपार्कस्थित शान्तिबाटिकामा भएको झडपमा नौं जना मिटर ब्याजपीडित घाइते भएका छन् । मिटर व्याजपीडितलाई रोक्ने क्रममा प्रहरीले लाठ्ठी चार्ज गर्नुका साथ पानीको फोहोरा समेत हानेको थियो ।

घाइते उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरूको आकस्मिक कक्षमा उपचार भइरहेको ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले जानकारी दिए । उनका अनुसार अधिकांश घाइतेहरूको टाउको र शरीरका विभिन्न अंगमा चोट देखिएको छ ।


मिटर ब्याज तथा ठगिविरुद्ध किसान मदजुर संघर्ष समितिका उपाध्यक्ष कूलबहादुर थापा, नवलपरासीका अकबर मियाँ, इलामका लोकनारायण सुवेदी, सर्लाहीको कृष्णनन्द महतो, ओखलढुंगाको प्रदिप नेपाल, नवलपरासीका तीलराम चौधरी, बालाजुका सीताराम तामाङ, रुकुमका यमकुमारी टडेल, सिरहाको देवी देविशाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

३५ बढी आफ्ना सहकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याज पीडितले बताएका छन् । झडपमा केही प्रहरी घाइते भएको बताइएको छ । शान्तिबाटीकाभित्र धर्ना बस्दै आएका मिटर ब्याजपीडित प्रदर्शन गर्दै भद्रकाली जान खोजेपछि प्रहरीले रोक्न खोज्दा झडपको स्थिति सिर्जना भएको थियो । भीड तितरवितर पार्न प्रहरीले लाठिचार्ज र अश्रुग्याँस समेत प्रहार गरेको थियो । प्रहरी र मिटरब्याज पीडितबीच धकेलाधकेल भएपछि शान्तिबाटीका क्षेत्र तनावग्रस्त बनेको थियो ।