काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन भएको सांसद राजन दाहालले जानकारी दिनुभयो । कार्यदलमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद सदस्य छन् । कार्यदलको सदस्यमा प्रतिनिधिसभाबाट पूर्ण घर्तीमगर र बिमला सुवेदी तथा राष्ट्रियसभाबाट जगप्रसाद शर्मा र गङ्गा बेलबासे छन् ।
कार्यदलले विधान संशोधनका विषयमा प्रतिवेदन प्रस्तुत गर्ने र सोही प्रतिवेदनका आधारमा विधानलाई अन्तिमरुप दिइने सांसद दाहालले बताए । आफ्नो रुची अनुसारको संसदीय समिति छनोट गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री दाहालले सरकार सञ्चालन, सरकारको गतिविधिका सम्बन्धमा जानकारी गराएका थिए । अनुशाशित र मर्यादित ढङ्गबाट संसद्मा प्रस्तुत हुने विषयमा अध्यक्ष एवं प्रधानमन्त्री दाहालले निर्देशित गरेकाे उनले जानकारी दिए ।