दाङ । लुम्बिनी प्रदेशसभाको बैठक बैशाख ११ गते बस्ने भएको छ । लुम्बिनी प्रदेशसभाले सूचना जारी गर्दै बैशाख ११ गते सोमबार दिउँसो ११ बजे बस्ने जानकारी दिएको हो ।
केन्द्रको सरकार समिकरण फेरिएसँगै माओवादी केन्द्र लगायतले चैत १२ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
उनी पुस २७ गते सात दलका ५६ र २ स्वतन्त्रसहित ५८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राष्ट्रपति निर्वाचनमा केन्द्रको सरकार समिकरण फेरिएपछि मुख्यमनत्री गिरी अल्पमतमा परेका छन् ।
मुख्यमन्त्री बनेका गिरीले ११ गते संसद बस्नुअघि राजीनामा गर्ने या संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । एमालेका मुख्य सचेतक तुलसी चौधरीका अनुसार मुख्यमन्त्री गिरीले अहिलेसम्म राजीनामा नदिई वैशाख ११ गते सदनमा विश्वासको मत लिने तयारी गरेका छन् । लुम्बिनी प्रदेशमा बहुमत पुर्याउन ४४ सिट चाहिन्छ ।