बुढ्यौलीको सामान्य बिमारीमा राष्ट्रपतिको वैदेशिक उपचार यात्रा अस्वाभाविक : लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारीलाई लिएर राष्ट्रपतिले अस्वाभाविक वैदेशिक उपचार यात्रा गरेको भन्दै आपत्ति जनाएका छन् ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चिकित्सकले रिफर नगर्दासमेत जहाज चार्टर गरी विदेश लैजानु अस्वाभाविक भएको उनको भनाइ छ ।


‘राष्ट्रपतिलाई सामान्य बुढ्यौलीमा लाग्ने बिमारलाई डाक्टरहरूले रिफर गरेकै थिएनन्, जहाज चार्टर गरेर विदेश लानुपर्ने– जुन अस्वाभाविक छ,’ लिङ्देनले भने । विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई दुई–दुई लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु गैरजिम्मेवारीपन भन्दै उनले स्रोतमा हात हाल्न पाउने बित्तिकै सरकार ब्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको आरोप लगाए ।