नेपालको शानदार जित, ओमान ८४ रनले पराजित



काठमाडौं । एसीसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत दोस्रो खेलमा पनि नेपालले सानदार जित हात पारेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई ८४ रनको पराजित गरेको हो ।

४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११ औं नम्बर ब्याट्सम्यानले चोटका कारण ब्याटिङ गर्न नआएपछि ओमान २२६ रनमा अलआउट भएको थियो ।


नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। कुल १०८ रन बनाएका उनले ६९ बलमै शतक बनाएका हुन् । आफ्नो एकदिवसीय करियरकै पहिलो शतक प्रहार गरेका उनी नेपालका लागि एकदिवासीय अन्तर्राष्ट्रियमा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । शतक हान्ने क्रममा उनले ९ चौका र १० छक्का प्रहार गरे ।

यस्तै सोमपाल कामीले पनि उत्कृष्ट ब्याटिङ गर्दै ६३ रनको योगदान गरे। ४८ बल खेलेका उनले ९ चौका प्रहार गरे । भीम सार्कीले ३३ रन बनाउँदा आरिफ शेख र करण केसीले समान २९ रन जोडे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३१० रनको विशाल योगफल तयार पारेको थियो ।
जवाफी ब्याटिङ गरेको ओमानले ओभरमा विकेटको क्षतिमा रन मात्र जोड्न सक्यो। ओमानका लागि महोमद नदिमले सर्वाधिक ६५ रन बनाए । सन्दीप गौडले ४६ रन बनाउँदा ओपनर कक्षेप प्रजापतिले २५ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । आजको खेलमा विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो ।

रसिदले ४४ खेलबाट सय विकेट लिएका थिए । सन्दीपले भने ४२ खेलबाटै सय विकेट लिँदै कीर्तिमान बनाएका हुन् । अब नेपाल अर्को खेल वैशाख ११ गते साउदी अरबसँग खेल्ने छ । खेल मुलपानी क्रिकेट मैदानमा हुने छ ।

प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ ।

एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ । एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।