नियमित विद्युत आपूर्तिको माग गर्दै विराटनगरका उद्योगी आन्दोलनमा



विराटनगर । नेपाल विद्युत प्राधिकरणले विना जानकारी विद्युत कटौती गरेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु सडकमा उत्रिएका छन् । तालिकाबिना दैनिक ८ देखि १२ घण्टासम्म हुँदै आएको अनियमित विद्युत् कटौतीले उद्योग चौपट भएको भन्दै मोरङ व्यापार संघले आइतबार विद्युत् प्राधिकरणको दुहवी ग्रिडमा घेराउ गरेको हो ।

विद्युत् कटौतीको तालिका सार्वजनिक गर्न र भएको विद्युत् व्यवस्थित रुपमा वितरण गर्नुपर्ने माग गर्दै संघमा आबद्ध सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले ग्रिडमा धर्ना दिएका हुन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजालले अनियमित विद्युत् आपूर्तिकै कारण उत्पादन लागत समेत बढेकाले सडकमा आउनु परेको बताए ।


विद्युत् प्राधिकरणले सूचना नदिई दैनिक लामो समय आपूर्ति बन्द गर्दा सुनसरी मोरङ औद्योगिक क्षेत्र प्राभावित भई ६० प्रतिशतसम्म उत्पादन कटौती भएको संघका पूर्वअध्यक्ष पवन सारडाले बताए । सुनसरी मोरङ औद्योगिक क्षेत्रमा पुसदेखि नै अनियमित विद्युत् आपूर्ति, ट्रिपिलिङ र लोभोल्टेजको समस्या छ । करिडोरमा साना ठूला ५ सय उद्योग छन् ।

विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत संस्था आन्दोलनमा छन् । नियमित आपूर्ति गर्न नसके लोडसेडिङको कार्यतालिका दिनुपर्ने उनीहरुको माग छ ।