नार्पाभूमिले बिरामी बोक्न हेलिकप्टरको भाडा बेहोर्दै



मनाङ । सडक सुविधाबाट वञ्चित मनाङको नार्पाभूमि गाउँपालिकाले बिरामीलाई हेलिकप्टरमा उद्धार गर्दै आएको छ ।

सडकको पहुँच नहुँदा यहाँका बासिन्दा उपचार गर्न समस्या हुने गरेको छ । यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले कुल भाडाको ५० प्रतिशत बेहोर्दै बिरामीलाई हेलिकप्टरमार्फत उपचारमा सहयोग गर्न थालेको हो ।


मनाङको विकट क्षेत्रमा पर्ने नार्पाभूमि सडक मार्गको पहुँचमा हालसम्म पुग्न सकेको छैन । स्थल मार्गको सहज पहुँच नहुँदा बिरामी उपचारका लागि हेलिकप्टरको भर पर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामाले बताए । ‘गम्भीर बिरामीलाई उपचारको व्यवस्था गर्नु हाम्रो दायित्व हो’, उनले भने ।

जिल्लामा भरपर्दो स्वास्थ्य सेवा छैन । गम्भीर वा जटिल प्रकृतिका बिरामीलाई पोखरा, काठमाडौँलगायत ठाउँका अस्पताल लैजान हेलिकप्टर चार्टर्ड गर्नुपरेको उनले बताए ।

पालिकाले विपन्न स्थानीयवासीको उपचारका लागि हेली चार्टर्डमा ५० प्रतिशत खर्च व्यहोर्ने गरेको लामाले बताए ।

‘हेलिकप्टर चार्टर्ड गर्न पालिकावासी सबै सक्षम छैनन्, त्यसैले विपन्नलाई उपचार तथा स्वास्थ्य पहुँचमा पुर्याउन यो निर्णय गरेका हौँ ‘, अध्यक्ष लामाले भने ।

हालसम्म पालिकाले सात गम्भीर तथा जटिल प्रकृतिका बिरामीलाई ५० प्रतिशत खर्च व्यहोरेर हेलिकप्टर चार्टर्डमार्फत उपचारका लागि अस्पतालसम्म पुर्याएको उनले बताए ।