धुम्बाराहीमा कांग्रेसका शीर्ष नेताहरुको बैठक



काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसिरहेको छ ।
बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोट लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए ।

नेपाली कांग्रेसले गत मंसिर २७ मा १४औँ महाधिवेशनपछि अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन । कांग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्था छ ।


कांग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डसमेत अपुरो छ । १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्नै बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १५६ जना सदस्यमात्र छन् । सभापतिले १२ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ ।

पार्टी विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा ३६ सदस्यमा सीमित छ । बाँकी सदस्य मनोनित गर्न सभापति देउवाले सकेका छैनन् । बैठकमा सोही विषयमा शीर्ष नेताहरुबीच छलफल भइरहेको बताइएको छ ।