काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार सोमबार जारी मतगणनामा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले ११ हजार २२१ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ५ हजार ८८५ मतसहित वाग्लेलाई पछ्याइरहेका छन् । यता तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ४६८ मत प्राप्त गरेका छन् । यता राप्रपाका शोभा गुरुङले ३८ मत पाएका छन् ।
तनहुँमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुबैले प्राप्त गरेको भन्दा पनि रास्वपाका वाग्लेले प्राप्त गरेको मत धेरै छ ।
तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् ।