टोखा–छहरे सुरुङ निर्माण अघि बढाउन माग



काठमाडौं । सांसद अर्जुनरसिंह केसीले बजेट विनियोजनसमेत भएको टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले सो सुरुङमार्ग नुवाकोट, रसुवा र धादिङको मात्र नभई उत्तरी छिमेकीसँग जोड्ने मार्गका रुपमा रहेको भन्दै तत्काल यसको निर्माण अगाडि बढाउन सरकारसँग माग गरे ।


‘आर्थिक वर्ष २०७७/७८ मा रु छ अर्ब ४२ करोड बजेट विनियोजन भए पनि अहिलेसम्म त्यसमा खोस्रने पनि काम भएको छैन । सरकारले गरेका वचनबद्धता र छुट्याइएको बजेटलाई एकातर्फ राखेर निर्माणको काम भएको छैन । यतातर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु’, उनले भने ।