महेन्द्रनगर । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कैलाली र कञ्चनपुरका चार पालिकामा फोहरमैला प्रशोधन केन्द्रको निर्माण अघि बढेको छ । आधुनिक सडक निर्माणको योजनासँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गरिएको हो । सन् २०१५ मा कैलालीको गोदावारी नगरपालिका र धनगढी उपमहानगरपालिका तथा कन्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका छनोट गरेर आधुनिक सडक, नाली, सडक पेटी, सौयबत्ती र फोहरमैला प्रशोधन केन्द्र निर्माणको थालिएको थियो ।
यहाँका चार वटै पालिकामा सडकलगायत अन्य संरचना निर्माणाधीन अवस्थामा छन् । धनगढी उपमहानगरपालिका–७ पटेलास्थित राष्ट्रिय वन क्षेत्रमा फोहरमैला प्रशोधन केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भए पनि सो क्षेत्रको रुख कटानको आदेश नआउँदा काम अघि बढ्न सकेको छैन ।
कैलालीको गोदावरी र कन्चनपुरको शुक्लाफाँटा नगरपालिकामा भने प्रशोधन केन्द्र निर्माण भइरहेको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा निर्माण थालिएको फोहरमैला प्रशोधन केन्द्रको रमण–केएस जेभीले निर्माणको जिम्मा लिएको थियो । यहाँको श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा करिब पाँच हेक्टर क्षेत्रफलमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।
आगामी वैशाखभित्र रुख कटानको काम सक्ने लक्ष्य लिइएको निर्माण कम्पनीका प्रतिनिधि अमित यादवले जानकारी दिए । रु. २६ करोड लागतमा निर्माण हुने उक्त प्रशोधन केन्द्र बीस महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको उनले बताए । ‘एक वर्ष जति त रुख कटानको आदेश आउनै समय लाग्यो । प्रधोशन केन्द्र निर्माणस्थलमा आठ सय १३ रुख कटान गर्नुपर्ने छ’, यादवले भने ।
कन्चनपुरको भीमदत्त नगरपालिकाले भने केन्द्रका लागि जग्गा प्राप्तिको प्रक्रियामा छ । नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले प्रशोधन केन्द्र निर्माणका लागि जमिन खोजिरहेको बताए । ‘केन्द्र स्थापनाका लागि जग्गा खोजिरहेका छौँ । जग्गा खरिद गरेर वा सार्वजनिक जग्गा उपयोग गरेर भए पनि केन्द्र निर्माणमा पालिकाले पहल गर्दैछ’, उनले भने । पालिकाले उत्तरतर्फको चुरे फेददेखि ब्रह्मदेव हुँदै वडा नम्बर १९ बागफाँटासम्म प्रशोधन केन्द्रका लागि जग्गा हेरे पनि अन्तिम टुङ्गो भने लाग्नसकेको छैन ।
पालिकाले जग्गा पहिचान र प्राप्तिका लागि केही समयअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर समितिले प्रतिवेदन बुझाइसकेको छ । जग्गाको विषय र स्थान टुङ्गो नलाग्दा यहाँ प्रशोधन केन्द्र निर्माणमा ढिलाइ भइरहेको प्रवक्ता खड्काको भनाइ छ ।
भीमदत्त नगरपालिका क्षेत्रको बजार र मझगाउँसम्मको सडक, फुटपाथ, नालीलगायत संरचनाको कामले भने गति लिएको छ । सडक निर्माणको जिम्मेवारी पाएको जेडआइसी–लामा जेभीका इन्जिनियर भुपेन्द्र सिंहले योजनाको ६५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार पूर्वाधार निर्माणअन्तर्गत करिब १४ किलोमिटर सडक, नाली, पुटपाथलगायत संरचना बनिरहेका छन् ।
क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीमार्फत यहाँका चार पालिकामा सडक तथा प्रशोधन केन्द्र निर्माणको काम भइरहेको इकाइका इन्जिनियर सञ्जीव कुमार शाहले बताए । उनले गोदावरी नगरपालिकामा प्रशोधन केन्द्रका लागि रुख कटानको काम सकिएर अन्य संरचना निर्माण भइरहेको जानकारी दिए । रु. ५१ करोड लागतमा निर्माण हुन लागेको उक्त केन्द्रको निर्माण अवधि दुई वर्ष चार महिना तोकिएको छ ।
त्यस्तै, धनगढीमा प्रशोधन केन्द्र निर्माणका लागि रुख कटान आदेश प्राप्तिको प्रक्रियामा रहेको इन्जिनियर शाहको भनाइ छ । ‘धनगढीमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत भएर रुख कटानको आदेश वन तथा वातावरण मन्त्रालयबाट पाउने प्रक्रियामा छ, कटानको आदेश आएपछि काम सुरु हुन्छ’, शाहले भने । उनका अनुसार धनगढी र गोदावरीको प्रशोधन केन्द्रको निर्माण सिच्युवान प्रोभिन्स जीओलोजिकल इन्जियरिङ कम्प्लेक्सले गर्नेछ ।