कांग्रेसका सांसदले दिए नयाँ बजेटबारे अर्थमन्त्रीलाई सुझाव



काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेसको सांसदहरूले आगामी वर्षको नयाँ बजेटबारे अर्थमन्त्रीलाई सुझाव दिएका छन् । संघीय संसद भवनमा सोमबारदेखि सुरू पार्टी संसदीय दलको बैठकमा सांसदहरुले बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका हुन् ।

सांसदहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माणको सल्लाह दिएका छन् । बैठकपछि मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा केन्द्रित भएको बताए । सानो पूँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको उनको भनाई थियो ।


लेखकले भने, ‘बजेटका सिद्धान्त, प्राथमिकता, त्यसका आधारहरु के हुन् ? भन्नेबारे अर्थमन्त्रीज्यूले जानकारी गराउनु भयो । बजेट कस्तो आउनुपर्छ, के आउनुपर्छ भन्नेबारेमा राय लिनुभयो । पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेटमा व्यवस्था गरिनुपर्छ भन्ने माग उठेको छ । महिला, आदिवासी, जनजाति दलित, पिछडिएको क्षेत्र, वर्ग, युवाल, शिक्षा, स्वास्थ्यका क्षेत्रकेन्द्रित कुरा उठेका छन् ।’