कर्णालीको बहुआयमिक सम्भावना सदुपयोग गर्न विशेष बजेट



कर्णाली । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको बहुआयमिक सम्भावना सदुपयोग गर्न केन्द्रबाट विशेष बजेट व्यवस्था गर्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र (२) को पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आज आयोजित प्रथम क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले विकासको गति तीव्ररुपले बढ्ने गरी केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए ।

निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेको सरकारले कर्णाली विकासलाई प्राथमिकता राख्ने उनको भनाइ थियो । चुनावताका जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने बताउँदै रक्षामन्त्री खड्काले भने, ‘शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको रक्षा र देशको तीव्र विकासमा वर्तमान सरकारले जोड दिन्छ । द्वन्द्वपीडितहरुलाई न्यायिक निरुपणमार्फत न्याय दिन र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराउँछौँ ।’


पुस १० को अप्राकृतिक गठबन्धन भत्केर बनेको प्राकृतिक गठबन्धनले देश र जनताका पक्षमा काम गर्ने जनाउँदै उहाँले मुद्दामा सहमत भएका दलहरु एक ठाउँमा रहेकाले ती मुद्दाहरु पूरा हुने उनले जनाए । पुसमै बन्नुपर्ने सरकार चैत १७ गते बन्दा महत्वपूर्ण समय खेर गएको जनाउँदै रक्षामन्त्री खड्काले अहिले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने बजेट आउने बताए ।