एन्जिला र प्रिन्स सर्वोत्कृष्ट खेलाडी



काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए)ले सोमबार आयोजना गरेको १७औँ एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०७८ मा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् । एन्जिला र प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित जनही एक लाख प्राप्त गरे ।


त्यसैगरी करातेकी चन्चला दनुवार महिलातर्फ र पुरुषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिए । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गरे । सर्वोत्कृष्ट पारा एथलेट अवार्ड सुभेक्षा खतिवडा, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाट र एनएनआईपीए खेलकुद पत्रकार पुरस्कार कान्तिपुर दैनिक ध्रुव तुलाधरले प्राप्त गरे ।

पारा अवार्ड विजेताले रु १५ हजार, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड विजेताले ३५ हजार र खेलकुद पत्रकारिता पुरस्कार विजेताले रु २५ हजार नगद प्राप्त गरे । यसैगरी एनएनआईपीएले ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त गरेका २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मानसमेत गरिएको थियो ।

उत्कृष्ट खेलाडीको अवार्ड पाउनेमा आर्चरीका इमायुङ राई, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुष्मा तामाङ, साइक्लिङकी निष्मा श्रेष्ठ र फेन्सिङका ओमकार सिंहले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।

त्यस्तै फुटबलकी एन्जिला तुम्बापो सुब्बा, गल्फका सद्भाव आचार्य, जिम्न्यास्टिकका नारायण मानन्धर, ह्याण्डबलका विशाल नेपाली, हक्कीकी कमला चन्द, जुडोका संजित डङ्गोल, कबड्डीका घनश्याम रोका मगर, करातेकी चन्चला दनुवार, ¥याफ्टिङ एन्ड क्यानोइङका मोहन राणा, सुटिङकी सुष्मिता नेपाल, स्कीकी संगिता लामा, पौडीका एलेक्जेन्डर शाह र टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठे उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।

यस्तै टेनिसका रितिक राना, ट्रायथलनका श्रेबी महर्जन, भलिबलकी सलिना श्रेष्ठ, भारोत्तोलनका विशालसिंह विष्ट, कुस्तीकी सुशिला चन्द र उसुकी सुष्मिता तामाङले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका पूर्वसदस्य–सचिव एवम् नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा, एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुस्कार प्रदान गरे ।