अजरवैजान लगेर ठगी गरेको आरोपमा एकजना पक्राउ



काठमाडौं । अजरवैजान पुर्याई ठगी गरेको अभियोगमा टीकापुर नगरपालिका–१ घर भएका कृतक बहादुर साउदलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले ४० वर्षीय साउदलाई बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।

साउले कैलालीको वर्दगोरीया गाउँपालिका–६ का दिनेश बमलाई वैदेशिक रोजगारीका लागि पोर्चुगत पुर्याइदिने भन्दै अजरबैजान पुगाएर दुई महिनादेखि अलपत्र पारेको प्रहरीले जनाएको छ । पोर्चुगत पुर्याएर मासिक दुई लाख नेपाली रकम हुनेगरी काम लगाइदिने भन्दै उनले बमलाई ललाइफकाइ गरेका थिए ।


उनले बमसँग विभिन्न प्रलोभन पार्दै पटक–पटक गरेर १३ लाख ९२ हजार लगेर अलपत्र पारेको प्रहरीले जनाएको छ । अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।