हावाहुरीले फेवातालमा ४ वटा डुङ्गा पल्टिए : डुबेका ६ जनाकै सकुशल उद्धार, एक वृद्धा बेहोस



पोखरा । पोखरामा डुंगा पल्टिँदा डुबेका ६ जनाकै सकुशल उद्धार गरिएको छ । एक्कासी हावाहुरीले शनिबार दिउँसो फेवातालमा डुंगा पल्टिँदा डुबेका ६ जनालाई सकुशल उद्धार गरिएको छ भने एक जना वृद्धा बेहोस छिन् ।

परिवार सवार एउटा डुंगा पल्टिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार डुंगाले च्यापेर एक वृद्धा बेहोस भएकी छिन् । बेलैमा उद्धार हुँदा मानवीय क्षति हुन नपाएको वडा प्रहरी कार्यालय वैदामका डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।


‘परिवारसहित चढेको डुंगा पल्टेको थियो । सबैको उद्धार भएपनि एकजना वृद्ध आमा बेहोस हुनुहुन्छ । उहाँको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै छ,’ डिएसपी जोशीले भने ।

डुंगामा ७ जना सवार थिए । हावाहुरीले ४ वटा डुंगा पल्टे पनि सबैको उद्धार भएको  डीएसपी जोशीले बताए ।

बैदाम चौकीका डिएसपी जोशीका अनुसार चार वटा कायक र एउटा प्याडल बोट तालमा पल्टेका थिए । दिउँसो सवा चार बजे एकाएक हावा लागेको बेला ती डुंगा र कायक तालमा पल्टेका थिए । तर सबै यात्रुले लाइफ ज्याकेट लगाएकाले उनीहरू पानीमा पौडिन सक्दा क्षति हुनबाट रोकिएको उनले बताए ।