स्ववियु निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेक्रममा आरआर क्याम्पसमा झडप



काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि शनिबार दुई विद्यार्थी समूहबीच झडप भएको छ । सोक्रममा एक जना खुकुरीसहित पक्राउ परेका छन् ।

प्रहरीका अनुसार नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन् । स्ववियु चुनावको उम्मेदवारी मनोनयनका क्रममा उनले खुकुरी देखाएको बताइएको छ । सन्दीप चन्दले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहारको प्रयास गरेको एमाले निकट विद्यार्थी नेताले आरोप लगाएको छ ।


अनेरास्ववियुका इकाई अध्यक्ष लोकेश खड्काका अनुसार आफ्ना ३ जना विद्यार्थी घाइते भएको जनाए । समाजवादी विद्यार्थी युनियनले निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गरेपछि आफूले प्रतिकार उनको भनाइ छ ।

समाजवादीको विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले आरोप अस्वीकार गरेका छन् । उनले क्याम्पस प्रमुख र निर्वाचन अधिकृत मिलेर फर्जी विद्यार्थी भर्ना गरेकाले सर्वदलीय बैठक डाक्न माग गरेको बताएका छन् ।

क्याम्पस प्रशासनले विद्यार्थी संगठनको दवाव र प्रभावमा निर्वाचन निर्देशिका विपरीत विद्यार्थी भर्ना गरेको आरोप लगाएका छन् । मतदाता नामवली प्रकाशनअघि नै फर्जी विद्यार्थीको विषयमा छानबिन गर्न समिति बनेको थियो ।

समितिको प्रतिवेदन सार्वजनिक नगरी मतदाता कायम गरेर निर्वाचन प्रक्रिया अघि बढाएपछि विवाद बढेको थियो । विवादका कारण नेविसंघ, अखिल क्रान्तिकारी लगायत सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

शनिबार देशभरका क्याम्पसमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका थियो । तर, आरआरमा झडप भएपछि क्याम्पस प्रशासनले मनोनयन दर्ताका लागि आइतबारसम्म समय थपेको छ ।