सन्दीपविरुद्धको मुद्दाको पेशी स्थगित



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदन दिएपछि स्थगित गरिएको हो ।

बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो । यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अब अर्को पेसी आगामी साता मात्रै हुने सन्दीप पक्षका वकिल सरोज घिमिरेले जानकारी दिए ।


घिमिरेले नै यसअघि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए। यसअघि थुनामा पठाएका न्यायाधीशकै इजलासमा पेसी परेपछि सन्दीप पक्षले निवेदन दिएर पेसी सारेका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा करणीको मुद्दा दायर भएको थियो ।

१८ वर्षभन्दा कम उमेरकी किशोरीमाथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।

सन्दीप विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । दफा २१९ को उपदफा (३) को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।