काठमाडौँ । शंकास्पद कारोबार गरेको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहसहित ६ जना जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।
शाहसहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्लेसहित १९ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो।
जसमध्ये ६ जनाबाहेक अन्य व्यक्ति भने अहिलेसम्म फरार छन् । पक्राउ परेका पृथ्वी शाहसित ६ जनालाई नै पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको सीआईबीले जनाएको छ । यो समूहले अमेरिकाबाट समेत शंकास्पद रुपमा करोडौं रकम भित्राएको आरोप लागेको थियो ।
उनीहरुले ठगीबाट आर्जित गरेको रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दूतावासमार्फत् उजुरी दिएका छन्।