वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारीलाई ६ महिना कैदको फैसला



काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । 

औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालकसमेत रहेका भण्डारीलाई वैदेशिक रोजगार कसुरमा दोषी ठहर गर्दै वैदेशिक रोजगार न्यायाधिकरणले मंगलबार यो फैसला सुनाएको हो।


भण्डारीलाई दुबईस्थित रोजगारदाता कम्पनी ‘टिम फर्निचर’ को लट नं.९२३३३ बाट ११ जना कामदार पठाउन वैदेशिक रोजगार विभागबाट स्वीकृति प्राप्त गर्दा नक्कली कागजात पेश गरेको कसुरमा मुद्दा परेको थियो । उक्त कागजात खडा गर्नका लागि प्रेस सञ्चालक महर्जनको समेत संलग्नता भएको ठहर गर्दै न्यायाधिकरणले उनीहरूलाई दोषी किटान गरेको हो।

न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री र सदस्यहरू निशा बानियाँ र गोपीचन्द्र भट्टराईको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो।

त्यसैगरी न्यायाधिकरणले यही मुद्दामा प्रेस सञ्चालक शेरबहादुर महर्जनलाई ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।