काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ ।
शनिबार साझ तीन दलबीच विभिन्न ‘एजेन्डा’मा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले जानकारी दिइन् । उनका अनुसार मधेश र थारुहट आन्दोलनका मुद्दाको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता, राजबन्दीको रिहाइ, विगतका सहमति कार्यान्वयलगायतका एजेन्डासहित सहकार्य गर्ने सहमति भएको हो ।
कार्यगत एकताका लागि तीन पार्टीबीच सहमति पत्रसमेत तयार भएको बताइएको छ । उक्त सहमति पत्रमा जनमत पार्टीकातर्फबाट अध्यक्ष डा सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले हस्ताक्षर गरेका छन् ।
तीन पार्टीबीच उपराष्ट्रपति निर्वाचनमा पनि सहकार्य गर्ने निर्णय भएको छ । उपराष्ट्रपतिमा जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको छ ।