काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई १८० रनको लक्ष्य दिएको छ ।
दुबईमा जारी नेपाल, पीएनजी र युएईबीच त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजी ४ बल खेल्न बाँकी छँदा १७९ रनमा अलआउट भयो ।
पिएनजीका ओपनरद्वय टोनी उरा ३९ रन र किप्लिन डोरिगा २६ रन जोडे भने उरालाई सोमपाल कामीले क्याच आउट गरे । यस्तै, डोरिगालाई सन्दीप लामिछानेले एलबिडब्लूको धरापमा पारे । सेसे बाउलाई आसिफ शेखले ११ रनमा रनआउट भए भने कप्तान असद भालालाई कुशल मल्लले एलबिडब्लूको धरापमा पार्दै पेभेलियन पठाए ।
दिपेन्द्रसिंह ऐरीले करण केसीको सहयोगमा छैटौं विकेटको रुपमा चाड सोपरलाई ९ रनमा रनआउट गरेका थिए ।
यस्तै सोमपाल कामीले रेली हेकुरेलाई ९ रनमा र करण केसीले नोर्मान भानुआलाई १४ रनमा बोल्ड गरे ।
बलिङमा नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले १–१ विकेट लिए ।
नेपालले पिएनजीका तीन ब्याट्सम्यानलाई रनआउट गरेको थियो । सिरिजको पहिलो खेलमा पिएनजीलाई हराएको नेपाल बिहीबार भएको दोस्रो खेलमा घरेलु टिम युएईसँग पराजित भएको थियो ।
सिरिजमा नेपालले अन्तिम खेल सोमबार युएईसँग खेल्नेछ । यी तीनै टिमबीच नेपालमा फागुन २५ देखि लिग–२ को अन्तिम सिरिज हुँदैछ । लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् ।