काठमाडौँ । राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा जनताको अभिभावकको रुपमा काम गर्ने बताएका छन् ।
बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा जनताको अभिभावकको रुपमा काम गर्ने बताएका हुन् ।
उनले निर्वाचित भएमा जनतालाई सास्ती दिने गतिविधि नगर्नेसमेत उनले प्रतिबद्धता जनाए । उनले भने, “राष्ट्रपतिमा निर्वाचित भएपछि मैले सवारीको नाममा जनतालाई सास्ती दिने छैन । सडकमा सवारी जाम तथा हवाई यात्राका क्रममा आकाशमा हवाई उडान प्रभावित हुने काम मेरो कार्यकालमा हुने छैन । जनतालाई सास्ती हैन, अभिभावकको महसुस गराउनेछु ।”
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ । राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् ।
अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका नेम्वाङ प्रतिस्पर्धामा छन् ।