राष्ट्रपति पौडेल आज गोरखा जाँदै



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन्। राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौँ बाहिर जान लागेका हुन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति पौडेल बिहान साढे ९ बजे गोरखा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।


गोरखा पुगेर उनले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। राष्ट्रपति कार्यालयका अनुसार उनी २ घण्टा गोरखामा रहनेछन्।

यसअघि राष्ट्रपति पौडेल काठमाडौंको बसन्तपुर दरबारमा जाँदा र गत मंगलबार घोडेजात्रामा टुँडिखेलमा नेपाली सेनाले आयोजना गरेको औपचारिक समारोहमा सामान्य सवारी गरेका थिए।