राष्ट्रपति निर्वाचन आज : यस्तो छ सुरक्षा व्यवस्था



काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्थाको योजना सार्वजनिक गरेको छ । बिहीबार हुने राष्ट्रपति निर्वाचनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले मतदान केन्द्र, मतदाताको सुरक्षा, मतपेटिका, मतदान सामग्रीदेखि मतगणना स्थलको सुरक्षा तयारीबारे बुधबार साँझ जानकारी गराएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि करिब ९ सय जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।


मतदानमा बाधा अवरोध नहोस् भन्नका लागि नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रवेश गर्ने क्षेत्रमा आवश्यक संख्यामा सिनियर अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी खटाइने उनको भनाइ छ ।

फरार सूचीमा रहेका मतदाताहरुलाई समेत निगरानी गरिने बताउँदै भने, भने, ‘मतदान अगाडि सबै मतदाताको सहजीकरण गर्ने, उहाँहरुको बसोबासको क्षेत्रको सुरक्षा मिलाउने, मतपेटिकाको सुरक्षा, मतदान सामग्रीको सुरक्षा, लाइनको व्यवस्थापन, कुनै पनि प्रज्वलनशील पदार्थ तथा मोबाइल र क्यामेरा लान नदिनेगरी प्रबन्ध गरेका छौं ।’

उनले मतदान गोप्य हुने भएकाले मतदानस्थलमा फोटो खिच्न नपाइने बताए । फरार सूचीमा रहेका मतदाताहरुलाई निगरानी गरिने र त्यस्ता व्यक्तिलाई जो जहाँ भेटिन्छ, त्यहीबाट पक्राउ गरेर कानुनी दायरामा ल्याइने उनको भनाइ छ ।

मतदान तथा मतगणनामा एकैपटक एउटै पक्षको दुइटा प्रतिनिधि बस्न नदिइने समेत उनले बताउँदै भने, ‘मतगणनामा अवाञ्छित गतिविधि हुन नदिन विशेष सतर्कता अपनाएका छौँ ।’

राष्ट्रपति चयनका लागि आज (बिहीबार) बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान तय गरिएको छ ।संघीय संसद् भवन नयाँ बानेश्वरमा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रपतिका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने संवैधानिक व्यवस्था छ ।