माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने



कैलाली । नेकपा माओवादी केन्द्रले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । मुख्यमन्त्री शाहले आइतबार (फागुन २१ गते) विश्वासको मत लिन गइरहेको बेला माओवादीले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्रीसँगको बैठकपछि माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले अझै पनि विश्वासको मत दिने वातावरण बनिनसकेको बताए । ‘त्यही कुराको निर्णय हामीले केन्द्रीय कार्यालयमा पठाएका छौं । केन्द्रको निर्णयको पखाइमा छौं’, उनले भने ।


माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्वसहित प्याकेजमा पावर शेयरिङ्ग हुनुपर्ने माग राख्दै आएको छ । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यता नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मतका लागि मन्त्रालय भागवण्डामा लिखित सहमतिको माग अघि सारेको छ ।