मकवानपुरमा ३६ हजार भूमिहीन सुकुम्वासी



मकवानपुर । राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्वासी रहेको जनाएको छ ।

आयोगले पत्रकार सम्मेलन गरी हेटौँडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० वटा पालिकामा उक्त सङ्ख्यामा भूमिहीन सुकुम्वासी रहेको जानकारी दिएको हो । 


मकवानपुरमा  १० वटै स्थानीय तहमा तीन सय ७९ जना भूमिहीन दलित, दुई हजार चार सय ६३ जना भूमिहीन सुकुम्वासी तथा ३३ हजार तीन सय २६ जना अव्यवस्थित  भूमिहीन बसोबासी रहेको  र उनीहरुले जग्गा प्रमाणपत्रका लागि आयोगमा दर्ता गरेको आयोगको भनाइ छ । 

आयोगका  मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले  भूमिहीनहरुको जग्गा प्राप्तिसम्बन्धी दर्ता भइसकेकोले उनीहरुले एक वर्षभित्र नै  जग्गा प्रमाणपत्र लालापुर्जा  प्राप्त गर्ने बताए । 

जिल्लाको  बागमती गाउँपालिकाका तीन भूमिहीन दलितले लालपुर्जा प्राप्त गरिसकेको उल्लेख गर्दै बाँकी त्यहाँको ३० जनाको जग्गा प्राप्त गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए । 

आयोगका सदस्य सचिवसमेत रहेका  नापी कार्यालय मकवानपुरका  प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले आयोगको काम र अधिकारबारे जानकारी दिँदै पहिलो चरणमा  भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा दिइने बताए । यसकार्यमा सबैको सहयोग आवश्यक हुने उनको भनाइ छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले भूमिहीन सुकुम्वासीको समस्या छिटो समाधान गर्नुपर्ने विचार व्यक्त गरे ।

यसैबीच भूमिअधिकार मञ्च हेटौँडाको अध्यक्ष पदमा  गोविन्दप्रसाद (जी) न्यौपाने सर्वसम्मतले चयन भएका छन् । मञ्चको नगर उपाध्यक्ष पदमा टीकाप्रसाद भट्टराई, सचिव पदमा ज्ञानबहादुर थिगं, सहसचिव पदमा रुकमणि तिमिल्सिना र कोषाध्यक्ष पदमा अनुपा घलान चयन भएका छन् । 

यसैगरी सदस्य पदमा जमुना राई, कृष्ण वल, सोमबहादुर थोकर र  दुर्गादेवी न्यौपाने पौडेल चयन भएको मञ्चका जिल्ला सदस्य विष्णु आचार्यले जानकारी दिए ।