पर्वत । कुनै समय वनमा खेर गइरहेको नागबेली झार बिक्री गरी मनग्य आम्दानी गरेका यहाँको विकट गाउँका बासिन्दा अहिले निराश छन् । सामुदायिक वनमा प्रशस्त मात्रामा पाइने झार बिक्री हुन छाडेपछि स्थानीय निराश बनेका हुन् ।
जिल्लाको जलजला गाउँपालिका–९ बनौ, ५ लेखफाँट, ६ शालिजा तथा मोदी गाउँपालिका–१ भुकताङ्ले र वडा नं ४ क्याङमा यो झार प्रशस्त मात्रामा पाइन्छ । नागबेली झारबाट उत्पादित पाउडर विभिन्न विदेशमा आयात गर्न थालेपछि उत्साहित बनेका उपभोक्ता पछिल्लो दुई वर्षयता विदेशी कम्पनीहरु सम्पर्कमा नआएपछि निराश बनेका छन् ।
उपयोगिता बुझ्दै गएपछि केही वर्ष सामुदायिक वनसँग आबद्ध उपभोक्ताहरुले सामूहिक रुपमा नागबेली सङ्कलन गरी बिक्री वितरण गरे पनि आजकल बिक्री हुन छाडेको छ । अहिले लाखौँ मूल्यको यो झार वनमै कुहिएर जान थालेको मोदी गाउँपालिका–४ का अगुवा कृषक नरसिंह पुनले बताए ।
स्थानीय स्तरमा लहरे झार, सिन्धुरे, वनमाला, सिमाल लगायतका नाममा परिचित यस झारलाई विगतका समयमा विवाह व्रतबन्ध लगायतका कार्यहरुमा गेट सजाउने कामबाहेक अन्य काममा उपयोग हुन पाएको थिएन । त्यही झारको कोसाबाट विभिन्न शृङ्गारका सामग्रीहरु बन्ने थाहा पाएपछि स्थानीयले चार वर्षसम्म राम्रो आम्दानी लिन सफल भएका थिए । स्थानीय कमेरे तथा छहरे पाखा सामुदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्याम प्रकाश पुर्जाका अनुसार अहिले बिक्री हुन छाडेपछि सङ्कलन गर्न पनि छाडिएको छ ।
मोदी–४ क्याङका तीनवटा सामुदायिक वन समूहले छुट्टाछुट्टै समूहमा नागबेली कोसा सङ्कलनमा गर्ने गरेका थिए । यसरी सङ्कलन गरिएको कोसालाई घाममा सुकाएर उक्त कोसालाई प्रशोधन गरी पाउडर बनाएर बिक्री गरिने पुनले बताए ।
पुनका अनुसार पाँच वर्षअघि लोहोसे सामुदायिक वन उपभोक्ता समूह खुइजुरीबाट दुई सय किलो र छहेरे तथा कमेरा पाखा वन समूहबाट एक सय ५० किलो पाउडर उत्पादन गरी बिक्री गरिएको थियो । चिसापानी वन समूह लेस्पारले भने कोसा नै बिक्री गरेको थियो । यसरी बिक्री गर्दा प्रतिकिलो सात सयदेखि आठ सय रुपैँयासम्म रकम आम्दानी हुने गरेको थियो ।
विभिन्न देशमा निर्यात हुने नागबेली झारको कोसाबाट निस्कने मसिनो पाउडरबाट कण्डम, ग्लोभ्स तथा ब्युटीपार्लरका सामग्री उत्पादन हुने भएकाले माग बढ्दै गएको थियो । जलजला–९ बनौका वडाअध्यक्ष गौबहादुर पुनले नागबेली झारको बिक्री केही वर्षसम्म राम्रो भए पनि अहिले भने माग नआएको बताए।
डिभिजन वन कार्यालय पर्वतका अनुसार पर्वतमा रहेको नागबेली झारबाट १० टनभन्दा बढी पाउडर उत्पादन गर्न सकिन्छ । नागबेली झारको कोसा सङ्कलनका लागि सामुदायिक वन उपभोक्ता महासङ्घमार्फत डिभिजन वन कार्यालयबाट वन समूहले निकासीका लागि अनुमति लिनुपर्ने प्रावधान थियो ।
सोही अनुरुप नेपाल सरकारले तोकेको न्यूनतम मूल्यमा उक्त पाउडर निकासी गर्न अनुमति प्रदान गर्ने गरिएको भए पनि यसको माग आउन छाडेपछि सङ्कलन कार्यसमेत रोकिएको डिभिजनल वन अधिकृत विष्णु अधिकारीले बताए ।