प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै



काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज (बिहीबार) प्रारम्भिक सुनुवाइ हुँदैछ ।

गत मंगलबार प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको थियो । माओवादी द्वन्द्वकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए ।


सोमबार प्रचण्डविरुद्ध ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दुई भिन्न रिट दायर गरेका थिए । निवेदकहरुले प्रचण्डद्वारा २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा भएका १७ हजार हत्या मध्ये ५ हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्तिलाई मध्यनजर गर्दै उनीविरुद्ध ती हत्याको अभियोजन दायर भई अदालतबाटै निरुपण हुनु पर्ने माग गरेका छन् । आज बिहीबार १० बजेपछि गोलाबाट न्यायाधीशको इजलास तोकिने छ र इजलासले बहस सुनेर आदेश जारी गर्ने छ । आदेशपछि प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुनेछ ।

यता नेकपा माओवादी घटक आठ दलले द्वन्द्वकालका घटना सर्वोच्च अदालतले हेर्न नहुने बताउँदै आएका छन् । माओवादी धारका आठ दलको वैठकले द्वन्द्वकालका घटना सर्वोच्च लगेर मुद्दा हाल्ने हो भने आफूहरु प्रतिवादमा उत्रने निर्णय गरेका छन् । उनीहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने प्रकृतिका विषय सर्वोच्च अदालत लगिए मुलुक फेरि द्वन्द्वको अवस्थातिर जाने बताएका छन् ।