प्रदेश १ को नामाकरण : प्रदेशसभा बैठक दुई घण्टाका लागि स्थगित, आजै नाम घोषणा गर्ने तयारी



विराटनगर । प्रदेश १ को प्रदेशसभामा दर्ता भएको ‘कोशी’ नाममा संशोधन गर्न चाहने सांसदका लागि दुई घण्टा बैठक स्थगित गरिएको छ ।

नेकपा एमालेले प्रस्ताव गरेको ‘कोशी प्रदेश’बारे सांसदहरूले बोल्ने क्रम सकिएपछि सभामुख बाबुराम गौतमले दुई घण्टा प्रदेशसभा स्थगन गरेका हुन् । यो दुई घण्टामा संशोधन गर्न चाहने सांसदले संशोधन दर्ता गर्न सक्नेछन् । प्रक्रिया पूरा भएपछि आजै नाम घोषणा गर्ने तयारी छ ।


यसअघि प्रदेशसभा सचिवालयमा प्रदेशको नाम ‘कोशी’ राख्नुपर्ने र लिम्बुवान किरात सगरमाथा राख्नुपर्ने प्रस्ताव दर्ता भएका थिए । तर, ती दुई प्रस्तावमध्ये एमालेले दर्ता गरेको प्रस्तावमाथि छलफल भएको हो ।

सुरूमा कोशी प्रस्तावलाई छलफलका लागि अघि बढाउन सभामुखले ध्वनि मतका आधारमा निर्णय गरेका थिए । उक्त प्रस्ताव छलफलका लागि स्वीकृत भएपछि नेकपा एकीकृत समाजवादीले राखेको प्रस्ताव अस्वीकृत भएको थियो ।