काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयमा बोल्दै थापाले राजनीतिक दलको सुविधाका लागि दर्जनभन्दा बढी मन्त्रालय खाली राख्न नहुने स्पष्ट पारे ।
“मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ”, उनले भने, “पाँच वर्षका लागि बनेको सरकारले गर्ने काम पाँच महिनाभित्रै संकेतका रुपमा देखिनुपर्छ ।”
महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
‘हामीसँग स्रोतसाधनको अभाव छ, त्योभन्दा धेरै समयको अभाव छ, हाम्रो प्रधानमन्त्रीले त्यो अभावको अनुभूति कति गरेको छ भन्ने कुराले हाम्रो गन्तव्यको अनुमान लगाउन सक्छौँ,’ थापाले भने, ‘अहिले सबैभन्दा धेरै नागरिकमा धैर्यताको अभाव छ । हामीसँग नागरिकलाई आशा जगाउनकालागि पाँच महिनाको समयमात्रै हो, यदि अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले केही गरिरहेको छ, सुधार हुँदैछ भन्ने अनुभूति गराउन सकेन भने संख्या जति भएपनि केही हुँदैन, गठबन्धन जति ठूलो भएपनि केही अर्थ रहँदैन ।’