पर्यटन प्रवर्द्धनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै



मुस्ताङ । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गर्न लागिएको प्रवर्द्धनात्मक कार्यक्रममा पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता छ । टेवानका अध्यक्ष कमला गिरीका अनुसार कोरोनालगायत विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि चारदिने प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको हो । स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धिलगायतका कार्यक्रम राखिएको उनको भनाइ छ । 


कार्यक्रमका क्रममा युवा तथा महिला उद्यमीलाई लक्षित गरी म्याग्दीको बेनी, मुस्ताङको जोमसोम, ठिनी, उपल्लो मुस्ताङस्थित लोमन्थाङमा क्षमता अभिवृद्धि तालिम एवं अन्तर्क्रिया गर्ने बताइएको छ । नेपाल र चीनबीचको सीमानाका कोरला नाकासम्मको प्रवर्द्धनात्मक भ्रमणका क्रममा धार्मिक एवं ऐतिहासिक स्थल मुक्तिनाथ, गुम्बा आदिको प्रवर्द्धन गरिने गिरीले बताए । 

कार्यक्रमअन्तर्गत स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि, डिजिटल मार्केटिङ तालिम एवं स्थानीय उत्पादनको ब्राण्डिङ र घरवास प्रवर्द्धन गरिने कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले जानकारी दिए ।