पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्यो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत



काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यममा समाचारलाई विश्वसनीय र सन्तुलित बनाउन पत्रकार आचारसंहिता कार्यान्वन गर्नुपर्ने बताए ।

आज यहाँ काउन्सिल नेपालले नियमितरूपमा सञ्चालन गर्दै आएको अभिमुखीकरणको २२औँ शृङ्खलामा उनले नयाँ दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई विश्वसनीय, सन्तुलित र खोजमूलक समाचार सामग्री प्रकाशन गर्न सुझाव दिएका हुन् ।


उनले भने- ‘अनलाइन सञ्चारमाध्यम विश्वसनीय र सन्तुलित बन्न सकेका छैनन् । अनलाइन सञ्चारमाध्यमको सङ्ख्या वृद्धि भएको छ । तर स्रोत, साधन र व्यवस्थापनमा अभाव कायम छ ।’

अध्यक्ष बस्नेतका अनुसार पत्रकारिता अध्ययन गरेका भन्दा बाहिरका व्यक्ति आमसञ्चारमाध्यमको सञ्चालनमा आबद्ध हुने क्रम बढेको हो । त्यसकारण पनि पत्रकार आचारसंहिता र निर्देशिकासम्बन्धी अभिमुखीकरण कार्यक्रम आवश्यक भएको उनको भनाइ छ ।

‘परिचयपत्र पाइन्छ, ज्याकेट लगाउन पाइन्छ, पहुँच बन्छ भन्ने हिसाबले पनि सञ्चारमाध्यम दर्ता गर्नेको भीड देखिन्छ । त्यस्ता सञ्चारमाध्यमका सञ्चालक सुरुमा धेरै उत्साही हुने तर काम गर्दै जाँदा झारा टार्ने प्रवृत्ति र हुबहु सार्ने प्रवृत्ति देखिएको छ’, उनले भने । उनले गुणस्तरीय पत्रकारिता गर्न सहभागीलाई सुझाव दिए ।

आचारसंहिता अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक पत्रकार सुरेशप्रसाद आचार्यले पत्रकारिता अनुभव नभएका व्यक्तिलाई अनलाइन सञ्चारमाध्यम सञ्चालन चुनौतीपूर्ण भएको बताए । ‘पत्रकारिता गर्दैगर्दा त्यसको आधारभूत मूल्य, मान्यताबारे जानकार हुनुपर्छ । पत्रकारिताको अनुभव र सीपको अभावमा नजानेर पनि गल्ती भइरहेको हुन्छ । धेरै साथीहरू पत्रकारिताको अनुभवबिना आउँदा गुणस्तरीय पत्रकारितामा चुनौती थपिएको छ ।’

उनका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा हरकोही पत्रकारजस्ता देखिन्छन् । तर आमसञ्चारमाध्यममा आउने जो–कोही पत्रकार होइनन् । ‘अरुभन्दा फरक हुन, जिम्मेवार, तथ्यपरक र खोजमूलक समाचारका लागि आउने हो’, उनले भने । आचार्यले आमसञ्चारमाध्यमको पहुँचको प्रलोभनमा अनलाइन सञ्चारमाध्यम सञ्चालन नगर्न आग्रहसमेत गरे ।

काउन्सिल नेपालले नयाँ सूचीकृत अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण दिँदै आएको छ । प्रवक्ता दीपक खनालले आचारसंहिता अभिमुखीकरण कार्यक्रमले एक वर्ष पूरा गरेको जानकारी दिए । गत वर्ष २०७८ चैत ११ गतेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमा विभिन्न छ सय ७१ अनलाइन सञ्चारमाध्यमका एक हजार ४० जना सहभागिता जनाएका छन् । अध्यक्ष बस्नेतको नेतृत्वमा प्रशिक्षणको कार्यक्रम अघि बढेको हो ।

उनले भने, ‘अनलाइन सञ्चारमाध्यमको सङ्ख्या तीन हजार बढी पुगेको छ । आचारसंहिता उल्लङ्घनको उजुरी र गुनासा पनि यही सञ्चारमाध्यमको धेरै छ । नयाँ दर्ता भएका अनलाइन सञ्चारमाध्यमलाई अभिमुखीकरण दिइरहेका छौँ ।’ अभिमुखीकरणका लागि काउन्सिलले सञ्चारमाध्यमबाट रकम सङ्कलन गर्ने गरेको छ । सीमित स्रोत साधनका बाबजुद अभिमुखीकरण कार्यक्रमको सकारात्मक प्रतिक्रिया आउने गरेको उनले बताए ।

‘विभिन्न आमसञ्चारमाध्यमको अनुभव भएका पत्रकार केही प्रतिशत हुनुहुन्छ । अन्य क्षेत्रमा संलग्नको आकर्षण बढी देखिन्छ । पत्रकारिताबारे कम अनुभव र कम जानकार सञ्चालकका लागि यस कार्यक्रम प्रभावकारी भएको पाएका छौँ । सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ’, उनले भने ।