काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले पाँचौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले पाँचौं विकेट रोहन मुस्तफालाई २० रनमा गुमाएको हो ।
यूएईका लागि ३२ बलमा तीन चौकासहित २० रन जोडेका मुस्तफालाई दीपेन्द्रसिंह ऐरीले एलबीडब्यूको शिकार बनाए । यसअघि ओपनर आर्यान लाक्रालाई ६ रनमा ललित राजवंशीले बोल्ड गरेका थि ए। लाक्रासँगै ओपनिङमा आएका कप्तान मुहम्मद वासिमले ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
वान डाउनमा क्रिजमा उत्रिएका वृत्या अरविन्द एक सय ६ बलमा ६ चौका र एक छक्कासहित ६५ रन बनाएर खेलिरहेका छन् । यूएईका सीपी रिजवानलाई भीम सार्की र आसिफ शेखले रन आउट गर्दै पभिलियन फर्काएका थिए । रिजवानपछि क्रिजमा उत्रिएका आयान खान तीन रन मात्र जोडेर दीपेन्द्रसिंह ऐरीको बलमा गुल्शन झाको हातबाट क्याच भएका थिए ।
आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ ।