‘धोकबाज हौ तिमी’ गीत पनि प्रचण्डकै लागि गाएजस्तो भएको छ : एमाले सचिव भट्टराई



मुगु । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको बताएका छन् ।

मंगलबार नेपाल पत्रकार महासंघ मुगुले आयोजना गरेका पत्रकार भेटघाटमा भट्टराईले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमतिविपरीत प्रधानमन्त्रीले धोका दिएको आरोप लगाएका हुन् ।


गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउने सहमति भए पनि माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले एमालेलाई धोका दिएको उनको आरोप छ ।

तत्कालीन सत्ता साझेदार सात दलहरुबीच एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति भएको दाबी गर्दै सचिव भट्टराईले तर, राष्ट्रपति बनाउने बेला प्रधानमन्त्रीबाट धोका भएको बताए ।

गायिका एलिना चौहानले ‘धोके बाज हौ तिमी, धोक बाज हौ तिमी’ गीत पनि प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भएको उनको टिप्पणी छ ।