धराप बन्दै जाजरकोटका सडक



जाजरकोट । पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैँ हुँदै आएका छन् । भेरी करिडोरसँग जोडिएको छेडा–कचाली सडकबाट मोर्क हुँदै जुनिचाँदे र कुशेसम्मका सडक विद्युतीय धरापजस्तै असहज बन्दै आएका छन् ।

मापदण्डविपरीत जहाँतहीँ डोजरको सहायताले खनिएका सडकमा बर्सेनि पालिकाबाट बजेट विनियोजन गरी माटो कोट्याएर सम्याउनका लागि कमाइखाने भाँडोसमेत हुँदै आएको लुहाद निवासी जुनिचाँदे गाउँपालिकाका रेशमबहादुर खड्काले बताए । पछिल्लो पाँच वर्षको रेकर्ड हेर्दा यस क्षेत्रमा आधा दर्जन सवारी दुर्घटनासमेत भइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । निजी सवारीसाधनको बिगबिगी रहेको यहाँका सडकमा गुड्ने सीमित सवारीसाधनले जाजरकोटबाट काठमाडौँ गएकोभन्दा बढी भाडा असुल्ने गरेको उनको गुनासो थियोे ।


चार जना अट्ने गाडीमा आवश्यकताभन्दा बढी यात्रु राखेर भाडा असुल्ने गरेको सर्वसाधारणको आरोप थियो । अधिकांश पालिकाले निर्माण गरेका प्रदेशका सडकमा यातायातका साधन गुडाउन सक्ने अवस्था नरहेको नलगाडका लोकेन्द्र केसीले बताउनुभयो । जताततै सडक खनेको देखिन्छ तर हलुका सवारीसाधन समेत त्यहाँ चल्न मुस्किल रहँदै आएको उनको भनाइ थियोे । पश्चिम जाजरकोटमा छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका छन् तर पालिकाको मुकाम जान र आउन नै मुस्किल हुँदै आएको छ ।

शिवालय गाउँपालिकाको प्रशासकीय केन्द्र जोड्न गरिएको कालोपत्रसमेत लथालिङ्ग भएकोे छ । ठाउँ–ठाउँमा कालोपत्र भत्किएका कारण सडक धरापमा परिणत भएको छ । त्यस्तै छेडागाड नगरपालिका हुँदै जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिका पुग्ने सडक काम नलाग्ने अवस्थामा पुगेको र बर्सेनि चुनावी नारा बन्ने यहाँका सडक नाममात्रका बन्दै आएको सवारी चालकको गुनासो छ ।