कञ्चनपुर । राना थारु समुदायले परम्परागत ‘खखडेहरा पर्व’ मङ्गलबार मनाइरहेका छन् । मुलुकमै कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले सो पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा मङ्गलबार सार्वजनिक बिदासमेत दिएको छ । राना थारुको धार्मिक एवं सांस्कृति महत्व बोकेको खखडेहरा पर्वको आफ्नै विशेषता रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ नयाँ कटानका चेतराम रानाले बताए ।
उनले आफ्नो समुदायका नागरिकहरुको दीर्घायु, रोगब्याधी नलागोस् भनेर खखडेहरा पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत स्थानीयले गर्ने प्रचलन रहेको सुनाए ।
राना थारू समुदायमा एक महिनासम्म होली मनाउने प्रचलन छ । फागू पूर्णिमादेखि पम्परागत शैलीमा एक महिना राति होली खोलिन्छ । “खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु खखडेहरा फुटाउन जान्छन्”, राना थारू सामुदायिक घरबास ‘होमस्टे’का सचिवसमेत रहेका चेतरामले भने, “खखडेहरन फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा र सात प्रकारको अन्न, सुकेको गोवर आदि आवश्यक पर्छ ।”
उनले राना समुदायले हरेक घरबाट बिहानै खप्टोमा माटोको भाँडा- सुइरो गाँसिएका मट्याङ्ग्रा बोक्दै रोगब्याध, भूत प्रेत, लङ्गडी घरघरबाट खखडेहरा लगेर जाने चलन रहेको बताए ।
“खखहडेरा गाउँभन्दा बाहिरबाट गाउँलेले ल्याएका सामग्रीहरु एकजुट गरी प्रधान वा गाउँको चौकीदारले फुटाउने चलन छ”, रानाले भने, “खखडेहरा फुटाइसकेपछि घर आउँदा फर्केर हेर्न नहुने मान्यता छ ।”
रानाका अनुसार खखडेहरा फुटाएर आउनेहरुले फेरि होलीमा चलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, प्रधान, अगुवालगायत सबैको घरमा पुगेर टीका लगाई आशीर्वाद दिने र खुसियाली मनाउने गरिन्छ ।
गर्मी बढेसँगै प्रकोप बढ्ने समय सुरु हुने भएकाले ती प्रकोपहरु नआऊन् भनेर सामूहिक रुपमा राना थारू समुदायले खखडेहरा पर्व सामूहिक रुपमा मनाउने गरेका छन् । राना थारुको बसोबास बढी रहेको कञ्चनपुरको लालझाडी गाउँपालिकामा खखडेहरा महोत्सवसमेत मङ्गलबारदेखि सुरु भएको छ । कला, संस्कृतिको संरक्षणका लागि भन्दै यहाँ दुईदिने महोत्सवको आयोजना गरिएको हो । राना कला संस्कृति संरक्षण मञ्चको आयोजनामा हुने महोत्सवका अवसरमा यहाँ रक्तदान गरिएको थियो ।