काठमाडौँ । आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान भइरहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।
सङ्घीय सांसदतर्फ राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरे भने प्रदेशसभातर्फ बागमती प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पहिलो मतदान गरे । मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।